काठमाडाैं। ‘गौर नरसंहार’ लाई लिएर रौतहटमा राजनीतिक दलहरु विभाजित भएका छन् । पीडित संघर्ष समितिका अध्यक्ष रुपसागर देवीको नेतृत्वमा १७ वर्षपछि पुनः आन्दोलन सुरु भएको छ । घटनाका दोषीहरूमाथि कारबाही गर्न समितिले साउन १६ गतेसम्मका लागि अल्टिमेटमसमेत दिएको छ ।
प्रशासनले कारबाही अगाडि नबढाए साउन १७ गतेदेखि रौतहट जिल्ला अनिश्चितकालिन बन्द गरिने समितिले चेतावनी दिइएको छ । गौर हत्याकाण्डपीडित संघर्ष समितिले दोषीलाई कारबाहीको माग गर्दै साउन १ गते गौरमा प्रदर्शन गरेको थियो ।
समितिले २०६४ चैत ७ मा भएको गौर हत्याकाण्डका मुख्य दोषी जसपा अध्यक्ष उपेन्द्र यादव रहेको दाबी गर्दै दोषीहरूमाथि कारबाही गरेर न्याय दिन संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।
विश्वहिन्दू परिषद् वीरगञ्जका अध्यक्ष काशिनाथ तिवारीको हत्यामा साहको संलग्नता रहेको भन्दै उनलाई पक्राउ गरी कारबाही अगाडि बढाउन समितिले माग गरेको छ । यो आन्दोलनमा रौतहटमा स्वतन्त्रबाट जितेका पूर्व माओवादी नेता तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको समर्थन छ ।
प्रभुको अभिव्यक्तिको कारण रौतहटमा अर्को काउण्टर आन्दोलन सुरू भएको छ । जसपाले प्रभु साहलाई नै गौर हत्याकाण्डमा दोषी दाबी गर्दै ६ दलीय मोर्चालाई आन्दोलनमा उतारेको छ । प्रभु साहविरुद्ध आन्दोलन गर्न पूर्व प्रदेश सांसद रामसागर यादवको नेतृत्वमा २१ सदस्यीय समिति बनेको छ ।
समितिमा जनमत पार्टी, लोसपा, नेपाली काँग्रेस, नेकपा एस, जसपा र माओवादी केन्द्रका प्रतिनिधि समेत रहेका छन् । समितिले आज गौरमा प्रभु साहविरुद्ध प्रदर्शन गरेको छ ।