बिहिवार, आश्विन १५ गते २०८३

चामल निर्यातमा भारतको प्रतिबन्धः मूल्य बढ्ने भएपछि झस्कियो सरकार, अभाव विरुद्ध लड्ने तयारी

आइतवार , श्रावण १४, २०८०

काठमाडौं। भारतले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै बासमतीबाहेकको चामल निर्यातमा रोक लगाएपछि सरकारले आपूर्ति व्यवस्था बिथोलिनसक्ने निष्कर्ष निकालेको छ ।

आइतबार सिंहरबारमा मुख्यसचिव बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले खाद्यान्नको मूल्य आकाशिन सक्ने र अभावसम्म सिर्जना हुनसक्ने निष्कर्ष निकालेको हो । बैठकले त्यसका विरुद्ध लड्न विभिन्न कामहरु अघि बढाउने निणर्य समेत गरेको छ ।

भारतले मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाएको छ । नेपालमा भारतबाट ठूलो मात्रामा चामल आयात हुने गरेको छ । भारत चीनपछिको सबैभन्दा धेरै धान उत्पादन गर्ने देश हो । नेपालले देशभित्र खपत हुने कुल चामलको करिब २० प्रतिशत आयातले थेग्ने गरेको छ ।

करिब ७० लाख मेट्रिकटन धान खपत हुनेमध्ये १५ लाख मेट्रिकटनभन्दा धेरै चामल आयात गर्नुपर्ने अवस्था छ । नेपालमा गत आर्थिक वर्ष २०७९/८० मा १५ अर्बभन्दा बढीको चामल आयात भएको थियो ।

भारतले गत वर्षदेखि चामल निर्यातका २० प्रतिशतसम्म कर लगाउने व्यवस्था गरेको छ । तर, नेपाल सरकारले मानवीय सहायताका रुपमा भएपनि कर नलगाउन अनुरोध गरेपछि ६ लाख मेट्रिक टनका लागि सो कर नलाग्ने गरी भारतले छुट सुविधा दिएको छ ।

तर, त्यही कोटाअनुरुप अहिले नेपालमा भारतबाट चामल आयात भइरहेको छ । कोटामा चामल ल्याउन समेत नपाउने गरी निर्यातमा रोक लागेपछि बजारमा चामलको मूल्य बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार