बिहिवार, आश्विन १५ गते २०८३

कोरिया पठाउने काम छिटो सुरु गर्न निर्देशन

बिहिवार , श्रावण १४, २०७८

काठमाडौँ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।     
     
आजको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा पीडित पक्षसँगकोे छलफलपछि कोभिड–१९ लाई मात्रै कारण बनाएर ती युवालाई रोक्न नहुने जनाउँदै छिटो र सरल माध्यमबाट पठाउन समितिले निर्देशन दिएको हो ।     
सभापति रामनारायण विडारीले पीडत युवाले विभिन्न मन्त्रालयमा धाउँदा पनि काम नभएपछि आफू समक्ष उजूरी दिएकाले सरकारी अधिकारीसँग छलफल गर्नुपरेको र यसबारे तत्काल तदारुकताका साथ काम अघि बढाउन निर्देशन दिए।     
     
दक्षिण कोरियाले नेपाली कामदार लिन तयार रहेको र कोभिडको बीमा गराई त्यहाँ पुगेपछि क्वारेन्टिनमा बस्ने गरी सिधा हवाई सम्पर्कमार्फत् पठाउन आग्रह गरेकामा दोस्रो लहरको सङ्क्रमणका कारण ढिलाइ भएको सरकारी अधिकारीले जनाएका थिए । 
श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सिधा हवाई उडानका लागि नेपाल एयरलाइन्सलाई अनुमति नभएकाले कोरियाली विमानबाट पठाउने प्रक्रिया शुरु गरिएको जानकारी दिए      
     
सदस्य राधेश्याम अधिकारीले कोरियास्थित नेपाली दूतावासले पनि यसबारे पनि पहल गर्नुपर्नेमा जोड दिए । अर्का सदस्य डा खिमलाल देवकोटाले पीडित युवालाई मन्त्रालय र संसदीय समितिमा धाउन लगाउनु गलत भएकाले सम्बन्धित निकायका अधिकारीबाटै पहल हुनुपर्ने भनाई राखे।     

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार