काठमाडौं। चीनका लागि जासुसी गरेको आरोपमा संयुक्त राज्य अमेरिकाका दुई नौसेना पक्राउ परेका छन् । अमेरिकी सेनाको संवेदनशील दस्तावेज चीनलाई दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । अमेरिकी नागरिक नै रहेका २२ वर्षिय जिन्चाओ वेइ र २६ वर्षीय वेनहेङ झाओलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
जिन्चाओले राष्ट्रिय सुरक्षासम्बन्धी सूचना चिनियाँ एजेन्टलाई दिएको र वेनहेङले संवेदनशील फोटो र भिडियो उपलब्ध गराए वापत पैसा लिएको आरोप लागेको हो । दुबै नौसेनालाई एकै चिनियाँ एजेन्टलाई दिएको हो कि फरक-फरक हो भन्ने खुल्न नसकेको जनाइएको छ । उनीहरु दुबै जनालाई बुधबार पक्राउ गरिएको अमेरिकी अधिकारीले जनाएका छन् ।
वेनहेङलाई चिनियाँ एजेन्टले अमेरिकी नागरिक बन्ने प्रक्रियाका लागि सन् २०२२ को फेब्रुअरीमा कुरा भएको खुलेको छ। वेनहेङले फोटो र भिडियो चिनियाँ एजेन्टलाई उपलब्ध गराएवापत हजारौं डलर लिएको आरोप छ ।
अमेरिकास्थित चिनियाँ दूतावासले भने अमेरिकी सरकार र मिडियाले बारम्बार चिनियाँहरुलाई जासुसी गरेको आरोप लगाउने गरेको भन्दै आलोचना गरेको छ ।