बुधवार, आश्विन १४ गते २०८३

राहुल गान्धीलाई राहतः सर्वोच्चले लगायो सजाएमा रोक, सांसद पद पुनर्बहाली

शुक्रवार , श्रावण १९, २०८०

काठमाडौं। भारतको सर्वोच्च अदालतले कंग्रेस आईका नेता राहुल गान्धीमाथिको सजायमा रोक लगाएसँगै उहाँको सांसद पद पुनर्बहाली भएको छ। यथेष्ट प्रमाणबिनै सुरत जिल्ला अदालतले गान्धीमाथि २ वर्षको सजाय सुनाएको भन्दै सर्वोच्चले उक्त सजाय रोक लगाएको हो।

सर्वोच्चले सजाय गर्नु नपर्ने आदेश दिएसँगै गान्धीलाई राहत मिलेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। गान्धीलाई मानहानी मुद्दामा जिल्ला अदालतले २ वर्ष सजाय सुनाइएको थियो। गत चैतमा सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो।

यसविरूद्ध गान्धीले उच्च अदालतमा पनि पुनरावेदन गरेका थिए। ४ वर्षअघि लोकसभा चुनावका क्रम कर्नाटकाको कोलारमा भाषण गर्दै गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा रिट दिएका थिए। सर्वोच्चको आदेशपछि भारतीय कंग्रेस आईले आज पत्रकार सम्मेलन गरेको छ ।

कंग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले सर्वोच्चको फैसलाको स्वागत गरेका छन्। उनले लोकतन्त्रको जीत भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार