काठमाडौं। संयुक्त राष्ट्रसंघले दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक उच्च तापमानको जोखिममा रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी निकाय (यूनिसेफ)का अनुसार जलवायु परिवर्तनका कारण सो क्षेत्रका १८ वर्ष मुनिका ७६ प्रतिशत अर्थात ४६ करोड बालबालिका अत्यधिक गर्मीको चपेटामा परेका भन्दै चेतावनी पनि दिएको छ ।
युनिसेफको सन् २०२१-बालबालिका जलवायु जोखिम सूचकांक (सीसीआरआई)का अनुसार अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स र पाकिस्तानका बालबालिका जलवायु परिवर्तनको प्रभावको ‘अत्यधिक उच्च जोखिममा’ छन् ।
युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक सञ्जय विजसेकेराले विश्व नै जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट गुज्रिरहेको बेला तत्काल कदम नचाले आगामी वर्षहरूमा दक्षिण एसियाका करोडौँ बालबालिका अझ बढी जोखिममा पर्ने बताए। दक्षिण एसियामा एक वर्षमा करिब तीन महिना औसत तापक्रम ३५ डिग्री सेल्सियस भन्दा बढी रहेको पाइएको छ ।
पाकिस्तानमा सन् २०२२ जुनमा विश्वको सबैभन्दा गर्मी सहर ज्याकोबाबाद सहित दक्षिणी सिन्ध प्रान्तका केही भू-भागहरूमा औसत तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथी रहेकोे र १८ लाख मानिसमा गर्मीका कारण स्वास्थ्य समस्या देखा परेको जनाइएको छ । वैज्ञानिकहरूले गत जुलाई विश्वव्यापी रूपमा रेकर्ड गरिएको हालसम्मकै गर्मी महिना रहेको बताएका थिए ।