काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।
शर्मालाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन। शर्माले आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई दिएका छन्।
‘केहि दिनदेखी सुन तस्करीको बिषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो? संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्विकृती दिएका हुन्? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन्?’ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लेखेका छन्।
सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।
मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए।