बुधवार, आश्विन २१ गते २०८३

के अभियोगमा पक्राउ परे सांसद सुनील शर्मा?, सभामुखको सचिवालय भन्छ- पक्राउको जानकारी छैन

बिहिवार , श्रावण २५, २०८०

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीवार दिउँसाे काठमाडौंको गल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हाे । 

शैक्षिक प्रमाण पत्र कीर्ते गरेको अभियोगमा शर्मालाई पक्राउ गरिएकाे प्रहरी प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए । उनले बाँकी कुरा भने खुलाउन चाहेनन् । 

तर, सिआइबी स्रोतका अनुसार शर्माकाे भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएकाे छ ।

शर्मा मोरङ-३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।

 प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयले सांसद सुनील शर्मा पक्राउ बारे सभामुखलाई जानकारी भइनसकेको जनाएको छ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार कांग्रेस सांसद शर्मालाई पक्राउ गरेको जनाए पनि भामुख घिमिरेको सचिवालयले भने आफूलाई त्यसबारे कुनै जानकारी नआएको जनाएको हो।

सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले अहिलेसम्म सभामुखसमक्ष जानकारी नआएको बताएका हुन्। नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा फौजदारी कसुरमा कुनै सांसद पक्राउ परेमा पक्राउ पर्ने वित्तिकै त्यससम्बन्धी जानकारी सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त जानकारी दिनुपर्ने प्रावधान रहेको छ ।  

प्रतिनिधिसभा नियमावली २०७९  को नियम २४८ अनुसार संविधानको धारा ३ अनुसार कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएपछि सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने प्रावधान रहेकोछ ।  सोही नियमको उपनियम ३ मा कानुन बमोजिम ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा वा फरार रहेमा निलम्बन गरिने व्यवस्था रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार