काठमाडौं। सिम्रिक एयरका चारओटै हेलिकप्टर ग्राउन्डेड भएका छन्। सिम्रिकका उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएसँगै ग्राउन्डेड भएका हुन्।
प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट कमजोर वित्तीय अवस्था देखिएको र प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटक-पटक ताकेता गर्दा पनि नतिरेपछि सेवामा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
उनले भने, ‘कमजोर वित्तीय अवस्थाका कारण कर्मचारीले पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिन्छ, सोहीकारण प्राधिकरणले सिम्रिकका चार वटै हेलिकप्टर उडानमा रोक लगाएको छ ।’
कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रुपैयाँ बक्यौता चुक्ता गरी आफ्नो वित्तीय अवस्थाबारे आस्वस्त पार्न सके मात्र उडानबारे पुनःर्विचार हुन सक्ने उनको भनाइ छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र २७ लाख ९३ हजार रुपैयाँ वक्यौता रहेको पाइएको छ । सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन् ।