काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्विकृत भएको छ । बिहीबार लोकसभामा सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफलमा प्रधानमन्त्री मोदीको सम्बोधनपछि अविश्वासको प्रस्तावमा मतदान भएको थियो । सो क्रममा बहुमतले अस्विकृत भएको हो ।
त्यसअघि अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिने क्रममा प्रधानमन्त्री मोदीले विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताएका थिए।
उनले सन् २०१९ को लोकसभा चुनावअघि सन् २०१८ मा पनि विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गर्दै विपक्षले सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताए।
प्रधानमन्त्री मोदीले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दावी समेत गरे।
मणिपुरबारे के भने?
प्रधानमन्त्री मोदीले मणिपुर हिंसाका बारेमा टिप्पणी गर्नुअघि नै विपक्षी सांसदहरू बैठकबाट बाहिरिएका थिए।
विपक्षी गठबन्धनप्रति मोदीले कठोर निसाना साँधिरहँदा उनीहरू एकसाथ बैठक हलबाट बाहिरिए। त्यसपछि भारतीय प्रधानमन्त्रीले विपक्षीहरूले आफ्नो जबाफ सुन्ने धैर्य समेत नदेखाएको बताए।
त्यसपछि मणिपुरको विषयमा बोलेका उनले मणिपुरको विषयमा मात्रै सरकार छलफल गर्न तयार भए पनि विपक्षीहरूले छलपूर्वक प्रस्ताव ल्याएको बताए।
उनले भने, “देश तपाईँको साथमा छ। कोही यहाँ होऊन् या नहोऊन् हामी सबै मिलेर समाधान निकाल्छौँ। मणिपुरमा फेरि शान्ति हुने छ र त्यहाँ द्रुत गतिले विकास होस् भन्नका लागि कुनै कसर बाँकी राखिने छैन।”
मणिपुरमा ‘भारत माताको हत्या गरिएको’ भन्ने विपक्षी नेता राहुल गान्धीको टिप्पणीप्रति मोदीले रोष व्यक्त गरे। उनको भनाइ थियो, “सत्ता सुखबिना जिउन नै सकिँदैन कि क्या हो। किनकि केही मानिसले भारत माताको मृत्युको कामना गरिरहेका छन्।”
मोदीले आफूहरूका लागि उत्तर-पूर्वी भारत ‘मुटुको टुक्रा’ भएको भन्दै कंग्रेसको पुरानो राजनीतिका कारण नै त्यहाँ समस्या देखिएको बताए।
राष्ट्रिय गान गाउन रोक लगाइनेदेखि पुस्तकालय जलाउनेसम्मका घटना मणिपुरमा हुँदा कंग्रेसको सरकार रहेको उनको टिप्पणी थियो। राजनीतिको खेल खेल्न मणिपुरलाई प्रयोग गर्न नहुनेमा मोदीले जोड दिए।
भारतीय प्रधानमन्त्रीले सम्बोधन सकेपछि उनका समर्थकहरूले ‘मोदी, मोदी’ भन्दै नाराबाजी गरेका थिए। यसअघि भारतीय विपक्षी नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हिंसा प्रभावित मणिपुरमा ‘भारत माताको हत्या गरेको’ आरोप लगाएका थिए।
“उनीहरूले मणिपुरमा भारतको हत्या गरेका छन्। उनीहरूको राजनीतिले गर्दा मणिपुरमा भारतको हत्या भयो,” संसद्मा सत्तारुढ भारतीय जनता पार्टीको होहल्ला र आक्रोशबीच उनले बुधवार भनेका थिए।
बिहीवार संसद्मा बहस सकिएपछि विपक्षी दलहरूले राखेको उक्त प्रस्तावमा मतदानको कार्यसूची रहेको थियो।
संसद्मा भारतीय जनता पार्टी र उसका साझेदारहरूको बहुमत रहेकाले मोदीले विश्वास मत प्राप्त गर्ने निश्चित थियो।
तर विपक्षी नेताहरूले संसद्को बहसले प्रधानमन्त्री मोदीलाई मणिपुरमा जारी जातीय हिंसाबारे जबाफ दिन बाध्य पार्ने टिप्पणी गरेका थिए।
मे महिनाको प्रारम्भबाट सुरु भएको जातीय हिंसामा १५० भन्दा बढीको ज्यान गएको छ भने दशौँ हजार विस्थापित भएका छन्। त्यहाँ बहुसङ्ख्यक मैतेई र अल्पसङ्ख्यक कुकी समुदायबीच द्वन्द्व भइरहेको छ।
प्रधानमन्त्री मोदीले हप्तौँपछि मात्रै उक्त हिंसाबारे सार्वजनिक टिप्पणी गरेका थिए।
एउटा भिडले दुईजना महिलालाई निर्वस्त्र पारेर हिँड्न लगाएको एउटा भिडिओ सार्वजनिक भएपछि त्यसले विश्वव्यापी आक्रोश र निन्दा निम्त्याएको थियो।
त्यसपछि सार्वजनिक प्रतिक्रिया जनाएका मोदीले घटनाले भारतलाई ‘लज्जित तुल्याएको’ भन्दै आक्रमणकारीहरूलाई नछाडिने बताएका थिए।