काठमाडौं। संघीय संसदका दुबै सदनमा आजपनि नेकपा एमालेले अवारोध कायम राखेको छ । दिउँसो १ बजेको बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले उठेर अवरोध गरेका हुुन् । उठेर विरोध जनाउन थालेपछि सभामुख देवराज घिमिरेले एमालेकी सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिए।
त्यक्रममा साहले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयमा चासो व्यक्त गरिन्। सुन प्रकरणमा भ्रष्टाचारीलाई पटक-पटक उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ भन्ने आवाज उठाइरहेको व्यक्तिलाई आज कुन हिसावबाट समातिएको हो? भन्दै उहाँले प्रश्न गरिन्। म्याद सकिइसकेको विषयमा बखेडा झिकेर शर्मालाइ पक्राउ गरिएको उनको आरोप छ ।
साहले बोले लगत्तै सत्तारुढ दलका सांसदहरुले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले नियमको पालना गर्न आग्रह गरेका थिए।
तर, सत्तारुढ दलका सांसदहरुले सदन विपक्षीको मात्रै कुरा सुनेर अगाडि बढ्न नसक्ने बताएपछि सभामुखले सभा आफ्नो नियन्त्रणमा चल्ने बताए।
सत्तापक्षका सांसदहरुको होहल्लाका कारण ‘कुरा नसुनिएको’ उल्लेख गर्दै सभामुखले एमाले सांसद साहलाई बस्न आग्रह गरे। लगत्तै एमाले सांसदहरुले नारावाजी सुरु गरेका थिए ।
संसदमा अवरोध भएपछि सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक स्थगित गरिदिएका छन् । अर्को बैठक यही साउन २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
त्यसअघि आज बिहान बसेको राष्ट्रियसभामा पनि एमालेले अवरोध जनाएको थियो ।