बुधवार, आश्विन २१ गते २०८३

दलहरुको जुंगाको लडाईंले संसद बन्धक, कांग्रेस नेताकाे आशंका: भ्रष्टाचारका मुद्दामा सरकारी वदनियत!

शुक्रवार , श्रावण २६, २०८०

काठमाडौं। नेपाली कांग्रेसका सांसदहरुले सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय आयोग गठनको माग राखेर नेकपा एमालेले संसद अवरोध गरिरहनु गलत भएको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले राज्यका संयन्त्रले अनुसन्धान गरिरहेको विषयमा छानबिन गर्न संसदीय समिति आवश्यक नभएको बताएका हुन् ।

सुन तस्करीका बारेमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले छानबिन गरिरहेको छ । कांग्रेस सांसदहरुले आपराधिक घटनाका अनुसन्धानका लागि राज्यकै संयन्त्र बलियो बनाउनु पर्ने र प्रहरी प्रशासनलाई विश्वास गर्नु पर्ने बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता प्रदीप पौडेलले आम नागरिकका बिचमा संसदको मर्यादा कायम गर्न नसकिएको बताए। सत्ता र प्रतिपक्षको जुँगाको लडाईंले संसद बन्धन भएको उनको भनाई छ । 

यस्तै बैठकमा सरकारले भ्रष्टाचारका मुद्दाहरुमा कारवाही गर्दा दलीय पूर्वाग्रह राखेको बिषय पनि उठेको छ । पार्टीका सांसद सुनिल शर्मा पक्राउ परेको विषयमाथि संसदीय दल वैठकमा छलफल भएको थियो । नेता पौडेलले भ्रष्टाचारका घटनाहरु इमान्दारितापूर्वक खोलिएको हो भने कांग्रेसको आपत्ति नहुने तर, पार्टी हेरेर कारवाही गरियो भने स्वीकार्य नहुने बताए। 

‘सुनिल शर्माजीको विषयमा अहिले हामी पनि खोजी गरिरहेका छौँ । जुन आरोप लगाइएको छ, त्यो आधारमा यो ढंगले पक्राउ गर्नुपर्ने हो कि होइन ? उहाँले त सुन तस्करीका विषयमा कुरा उठाइरहनुभएको थियो, कतै त्यही कुरालाई प्रतिशोध राखेर तर्साउने प्रयास भएको त होइन भन्ने प्रश्न उठेको छ,’ उनले भने, ‘बैठकमा यसबारे छलफल भएको छ ।’

उनले थपे,‘भ्रष्टाचारका फाइलहरू इमान्दारीपूर्वक खोलिएको हो भने त्यसमा सबैको साथ सहयोग हुनुपर्छ । तर अमुक पार्टीको मान्छे पर्‍यो भने कारबाही गर्ने, तर आफ्नो पार्टीको पर्‍यो भने कारबाही नगर्ने भन्ने भयो भने असहज हुनसक्छ। अहिले विभिन्न प्रकरणमा ज–जसको नामहरू आइरहेको छ, ती मान्छेलाई किन छानबिनको दायरामा ल्याउने कोसिस भइरहेको छैन ? र अर्को दलको मान्छे पर्दा त्यहाँ सरकार कसरी प्रस्तुत भइरहेको छ ? भन्ने कुराले आशंका पैदा गर्छ ।’

कांग्रेसका अर्का नेता अर्जुन नरसिंह केसीले पनि अहिलेकै समयमा सुनिल शर्मा पक्राउ पर्नुले आशंका जन्मिएको बताए। गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेपछि मात्रै शर्मामाथि प्रतिशोधात्मकरुपमा कारवाही अघि बढाईएको उनको भनाई छ। 

उनले भने, ‘२७ वर्षपछि जब उहाँले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा गर्नुभयो, यो केस कि तात्यो ? योभन्दा अघि के हेरेर बसेका थिए कारवाही गर्ने निकाय रु अलि दिन पर्खेको भए के जान्थ्यो रु सुनील शर्मा भागेर जाने मान्छे त होइन । यो कारवाही प्रतिशोधात्मकरुपमा गरिएको आम धारणा छ ।’

यस्तै सांसद चन्द्र भण्डारीले सरकारले राजनीतिक प्रतिशोधमा समय खेर फ्यालेको आरोप लगाए। पार्टीका सांसद सुनिल शर्मा पक्राउ परेपछि उनले यस्तो बताएका हुन्।

पार्टी संसदीय दलको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै उनले देशमा कैयौं लुटपाट र भ्रष्टाचारका घटनाहरु रहेकाले त्यसतर्फ लाग्नुपर्नेमा नचाहिने प्रतिशोधमा राज्यले आफ्नो समय खेर फालेको टिप्प्पणी गरे। 

उनले भने, ‘देशमा यतिधेरै समस्या छन्, यतिधेरै लुटपाट र भ्रष्टाचार छन् राज्य यतातिर पो लाग्नुपर्छ । नचाहिने प्रतिशोधमा राज्यले आफ्नो समय खेर फाल्नु हुँदैन । यो गलत हो ।’

संसदीय दलको बैठकमा आज १६ जना सांसदले बोलेका छन् । बैठक आइतबार फेरि बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार