बुधवार, आश्विन २१ गते २०८३

सुशासन दिन नसके सरकार धेरै टिक्दैन,सुन काण्डमा बोल्दा सुनिल शर्मामाथि प्रतिशोध साँधियाे: शेखर कोइराला

शनिवार , श्रावण २७, २०८०

काठमाडाैं। सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन्। 

नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा ख ले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताए। नेता कोईरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यक्ता रहेको तर्क गरे। 

उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको आंंैल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए। नेता कोईरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानूनको निर्माण गर्नसके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने पनि दोहोर्याए।

उनले भन्नुभयो, ‘भ्रष्टाचार र सुशासन यो हामीहरुले आजैदेखि हामीहरुले, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईंहरुको माझमा राख्न चाहन्छु । यो अत्यन्त गम्भिर विषय छ । अमेरिकाले अहिले आफ्नो इन्भेष्मेण्ट पोलिसी बनाएको छ । नेपालमा प्रचुर सम्भावना छ भन्छ । फरेन डाईरेक्न इन्भेष्मेण्टको नेपालमा प्रचुर सम्भावना छ भन्छ । तर के भन्छ सँगसँगै भने–त्यो सबैभन्दा भ्रष्टाचार हुने मुलुक हो भन्छ । दोस्रो कुरा, के भन्छ भने राजनीतिक अस्थिरता छ भनेर भन्छ । राजनीतिक स्थिरता नभई अफ्ठ्यारो हुन्छ भनेर इन्द्र बानियाँजीले भन्नुभयो । राजनीतिक अस्थिरता छ भनेर भन्छ । यो एक हप्ता पहिलेको रिपोर्ट हो यो । तेस्रो, रिपोर्ट के भन्छ भने इन्कन्फिडेन्ट ब्युरोक्रेसी भन्छ । चौथोले के भन्छ भने कानून यदी लचक बनाउँछौं हामी त्यसमा कामै गर्न सकिँदैन भनेर भनिराखेको छ । यो चार वटा कुरालाई हामीहरुले सम्बोधन गर्नसक्यौं भने नेपालको भविष्य उज्ज्वल छ । समृद्ध नेपाल, समुन्नत नेपाल हामी बनाउन सक्छौं ।’

नेता कोईरालाले पार्टीको भातृ संस्थाहरु तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे। उनले पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुने समेत बताए।

उनले सुन काण्डको विषयमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साँधेको समेत बताएका छन् ।

‘सुन काण्डका विषयमा नेपाली कांग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो । उहाँका गल्ती कमजोरीहरू होलान्, त्यसको छानबिन र कारबाही हुनुपर्छ । तर प्रतिशोधको भावनाले अघि बढ्ने हो भने हामीले देशलाई कहाँ पुर्‍याउन खोजिएको हो ? यो अहिले गम्भीर विषय हो जस्तो लागिरहेको छ । राजनीतिमा जब प्रतिशोधको भावना सुरू हुन्छ तब राजनीति राजनीति नै रहन्नँ, त्यसले व्यक्तिलाई क्षति गर्छ, दलहरूलाई बिगार्छ र देशलाई पनि क्षति पुर्‍याउँछ ।’, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार