काठमाडौं। एक सय किलो सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी र सरकारको हठका कारण प्रतिनिधिसभा बन्धक भइरहेको अवस्थामा मिनि पार्लियामेन्ट समेत भनेर चिनिने संसदीय समितिहरु बेकामे बनेका छन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिसिभाको निर्वाचनपछि पुस २६ गते प्रतिनिधिसभाको पहिलो बैठक बसेयता सभा सञ्चालन भएको ८ महिना पुगेको छ । यो बीचमा प्रतिनिधिसभाले एउटा मात्र ‘मिटरव्याजसम्बन्धी’ कानुन निर्माण गरेको छ भने यस आर्थिक वर्षका लागि बजेट पास गर्ने काम गरेको छ ।
प्रतिनिधि सभामा १४ विधेयक विचाराधीन रहदा छलफल समेत हुन नसक्दा संसद अधिवेशनको आयू लम्ब्याईएकोबारे समेत प्रश्न उठिरहेको छ । पहिलो बैठक बसेको ४ महिनापछि गत वैशाखमा संसदीय समिति गठन भए पनि समितिमा सभापति चयन हुन सकेका छैनन् ।
प्रतिनिधिसभा अन्तर्गत रहेका १० वटा विषयगत समितिहरू सभापति बिहीन हुँदा ज्येष्ठ सदस्यलाई कामचलाउ सभापति बनाईएको छ ।समितिमा सभापति चयन नहुँदा बैठक नियमित हुन सकिरहेको छैन भने ज्येष्ठ सदस्यहरुले पनि गम्भीर प्रकृतिको मुद्दामा समितिमा छलफल गराउन तयार भएका छैनन् ।
एक साता पहिले मात्रै कांग्रेसले चार, एमालेले तीन, माओवादी केन्द्रले एक तथा जसपा, जनमत र एकीकृत समाजवादी पार्टीले समेत एक-एक समिति नेतृपाउने सहमति भएको थियो । तर, सभापति चयनमा भने दलहरु उदासिन बनेका हुन् । दलहरुको उदासिनताकै कारण संसदी समिति थला परेका हुन् ।
एमालेकाे बहिष्कार
सभापति चयन नभएको भन्दै बिहीबार मात्रै नेकपा एमालेले सार्वजनिक लेखा समितिको बैठक बहिस्कार गरेको छ । दिउँसो १ बजेका लागि बोलाईएको बैठकमा एमालेका सांसदहरु नगएपछि गणपूरक संख्या पुग्न सकेन । आजको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुने विषय राखिएपनि गणपूरक संख्या नपुगेपछि बैठक बस्दै नबसी स्थगित भयो ।
बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका सांसद एवं सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले अहिले संसद नचलिरहेको समयमा समितिहरु जागरुक हुँदा संसदलाई चलाउन निकास निस्किनसक्ने भएकाले पनि बैठक बोलाइएको बताए। ज्येष्ठ सदस्य सभापति केसीले सबै समितिमा सभापति सकेसम्म चाँडो चयन हुनुपर्ने बताए।
सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी
राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्। राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले जानकारी दिए।
बैठक छिट्टै बोलाइने भए पनि मिति भने तय भइनसकेको थापाको भनाई छ । राष्टठ्रपति पौडेलले पछिल्लो समय संसदको गतिरोधबारे समेत निरन्थतर चाँसो राखिरहेका छन् ।
केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका पौडलले संसद सञ्चालनका बिषयमा सभामुख र राष्ट्रिय सभाका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग छलफल गरिसकेका छन्।