काठमाडौं। सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन बुधबार सर्वदलीय बैठक बस्दै छ।
आज बिहान ११ बजे सर्वदलीय बैठक बस्न लागेको हो। मंगलबार नै दिउँसो २ बजे बैठक बसेर समितिको कार्यादेश, क्षेत्राधिकार र संरचना टुंगो लगाउने तयारी थियो।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नै बैठकमा आएनन्।
बिहान एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्यदलले समितिको कार्यदेशबारे मोटामोटी छलफल गरेको थियो।
दिउँसो त्यसलाई अन्तिमरूप दिने भन्दा ओली बिरामीको कारण देखाएर बैठकमा आएका थिएनन्।
स्रोतका अनुसार एमाले साउन २ गते समातिएको ६० किलो सुन, माघ ८ गते विमानस्थलको भन्सार जाँचमै फेला परेको भनिएको इलेक्ट्रिक चुरोटभित्र लुकाएर ल्याएको ९ किलो सुन लगायत सबै प्रकरण उच्चस्तरीय छानबिन समितिको क्षेत्राधिकारभित्र राख्नुपर्ने पक्षमा छ।
कांग्रेस, माओवादी केन्द्र ६० किलो सुन प्रकरण सिआइबीले अनुसन्धान गरिरहेकाले यसलाई निष्कर्षमा पुर्याउन दिनुपर्ने र अहिले भइरहेको अनुसन्धानमा बाधा पार्नु हुँदैन भन्ने पक्षमा छन्। यसो हुँदा कार्यादेशको अन्तरवस्तुमै मतभिन्न छ। त्यसैले हिजोको बैठक धकेलिएको हो।
हिजो दलहरूबीच बैठक बसेर छानबिन समिति बनाउने कुरा निष्कर्षमा नपुग्दा प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भयो।
साउन १० गतेयता संसद् बैठक निरन्तर अवरूद्ध छ। आज प्रतिनिधि सभा दिउँसो ३ बजेलाई बोलाइएको छ।