काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लएको विश्वासको मतको विरुद्धमा नेकपा एमाले फेरी सर्वोच्च अदालत पुगेको छ ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि थापाको पक्षमा मतदान गरेको र त्यसले संविधान र सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको भन्दै बाध्य भएर सर्वोच्च आउनुपरेको कोशी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेस भई कानून व्यवसायी दुर्गाबहादुर दाहालले नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन्।
रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ।
मत बराबर पनि नभएको अवस्था र मत विभाजनको समय सकेर मत सच्चाउने क्रममा मतदान गरी पुनः सभाध्यक्षको कुर्सीमा फर्कनु संविधानको धारा १८६ र प्रदेशसभा नियमावलीविपरीतको कार्य भएको जिकिर गरिएको छ ।
प्रदेशसभामा अवरोध
यस्तै बुधबारै बसेको कोशी प्रदेशसभामा समेत एमाले सांसदहरुले अवरोध जनाएका छन्। बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै बहिष्कार गरेका हुन् ।
राप्रपाका संसदीय दलका नेता भक्ति सिटौलाले अमर्यादित ढंगलबाट विश्वासको मत लिने काम भएको र संसदीय इतिहासमा कहिल्यै नभएको घटना भन्दै बहिष्कार गरेको बताए। सांसदहरुले नाराबाजी गर्दै बहिष्कार गरेपछि मन्सुरीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन्।