काठमाडौं । विभिन्न ३४ बुँदे माग राखी देशभरका शिक्षकहरु आज रिले अनसनमा बसेका छन् । नेपाल शिक्षक महासंघ आह्वानमा पेशागत तथा नीतिगत मागसहित उनीहरु एक दिने अनसनमा बसेका हुन् ।
उनीहरुले निजामती कर्मचारी सरह सेवा सुविधा पाउनुपर्ने‚ गुणस्तरीय शिक्षाका लागि बजेटको २० प्रतिशत भाग शिक्षा क्षेत्रका लागि छुटाउनुपर्ने, शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था हुनुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोग गठन गर्नुपर्नेलगायतका माग राखेका छन् ।
यस्तै, साविकको उच्च मावि र बाल कक्षाका शिक्षक कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरको हद नलाग्ने गरी आन्तरिक÷खुला प्रतियोगितामार्फत स्थायी गरिनुपर्ने, स्थायी शिक्षकलाई हरेक १० वर्षमा एक तह आवधिक बढुवाको प्रबन्ध हुनुपर्ने शिक्षकहरूको माग छ ।