काठमाडाैं। बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एकसीसी आजदेखि औपचारिक कार्यान्वयनमा आएको छ ।
अर्थ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत तथा कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डबीच आज कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स-ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान भएको छ । कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले परियोजनामार्फत गरिने सडक स्तरोन्नति तथा विद्युत आपूर्ति सम्बन्धी कामले नेपाली जनता लाभान्वित हुने बताए।
यससँगै पाँच वर्षको समय तोकिएको एमसीसीका परियोजना कार्यान्वयनमा गएको छ । यो परियोजना अन्र्तगत २०२८ अगस्त २९ भित्र आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।
त्यसो नभएमा खर्च हुन बाँकी रकम एमसीसीले फिर्ता लैजानेछ र बाँकी लागत समेत नेपालले नै तिर्नुपर्ने भएकाले पनि नेपाललाई आयोजना समयमै सम्पन्न गर्नुपर्ने दवाव छ । हालसम्म आयोजनाहरुको ठेक्काको प्रक्रिया सुरु भइसकेको छ तर, हालसम्म जग्गा अधिग्रहण भने भइसकेको छैन ।
करिव ६ बर्षअघि २०७४ भदौ २९ गते नेपाल र अमेरिकाबीच ५० करोड अमेरिकी डलर अनुदान सहयोग लिने र पूर्वाधार आयोजना बनाउनेगरि एमसीसी परियोजना अघि बढाउने सहमति भएको थियो । यो कार्यक्रममा नेपाल सरकारले समेत गर्ने १३ करोड सहित कुल ६३ करोड अमेरिकी डलर अर्थात करिब ८३ अर्ब नेपाली रुपैयाँ लगानी हुँदैछ ।
एमसीसी परियोजनाअन्तर्गत ४ सय केभी क्षमताको भारतीय सीमादेखि न्यू बुटवल, न्यू बुटवल-न्यू दमौली, न्यू दमौली-रातमाटे (नुवाकोट), रातमाटे-हेटौंडा र रातमाटे-लप्सीफेदी (काठमाडौं) प्रसारण खण्ड निर्माण गरिनेछ । एमसीसीअन्तर्गत नै सडक सुधार योजना पनि सञ्चालन हुनेछ । यसअन्तर्गत दाङको भालुवाङदेखि बाँकेको सीमा शिव खोलासम्म ७७ किलोमिटर सडक सुधार गर्ने योजना छ ।
समाजवादी मोर्चामा खटपट
एमसिसीबारेको विवादले समाजवादी मोर्चामा खटपट देखिएको छ । मोर्चामा आबद्ध दल नेकपाले सहकार्य तोड्नेसम्मको चेतावनी दिएको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर मोर्चा र माओवादी केन्द्रसँग समेत सहकार्य तोड्नेसम्मको चेतावनी दिएका हुन्।
प्रचण्डलाई भेट्न बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए। तर जवाफमा प्रधानमन्त्री प्रचण्डले एमसीसी कार्यान्वयन तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ दिएको बताइएको छ ।
मंगलबार मात्रै बुटवलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदै ब्याख्यात्मक घोषणाबारे एमसीसी उपाध्यक्षसँग स्पष्टसँग कुरा राख्ने बताएका थिए। त्यो घोषणा परियोजनाको अंग नबने सडकमा जानेसम्मको घुर्की समेत प्रचण्डले दिएका थिए।
यद्यपी विप्लबसँगको भेटमा भने प्रचण्डले आफूले केही गर्न नसक्ने जवाफ दिएका हुन्। यो घटनाले पनि प्रधानमन्त्रीले सहयात्री दल र जनता रिझाउनका लागि मात्रै सार्वजनिक अभिव्याक्ति दिएको बुझ्न सकिन्छ । यही विवादकै कारण आज धनगढीमा हुने भएएको मोर्चाको सभा समेत स्थगित भएको छ ।
यता एमसीसी कार्यान्वयन सुरुवात भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध प्रदर्शन गरेका छन् । नेकपाका विप्लव, खड्गबहादुर विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका धर्मेन्द्र वास्तोला लगायतका नेताहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् ।