कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ शुक्रबार हुँदैछ।
मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार पूर्ण सुनुवाइका लागि पेसी तोकिएको छ।
७ भदौमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त रिटको पेशी सर्वोच्चले आजको लागि तोकेको हो।
कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौमा सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख पर्शराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका रिट दायर गरेका छन्।
मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएको छ।
‘अध्यक्षता गर्ने सदस्यले दिएको मतसमेत गणना गरी श्री उद्धव थापाले विश्वासको मत प्राप्त गर्नुभएको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिन आयो,’ आदेशमा भनिएको छ।
यो आदेशसँगै सर्वोच्चले थापा नेतृत्वको सरकारलाई कारण देखाउ आदेश पनि दिएको थियो।
मुख्यमन्त्री थापासहित प्रतिवादीहरु सबैले सर्वोच्चले दिएको म्याद भदौ १३ गते भित्रै सर्वोच्चमा लिखित जवाफ बुझाइसकेका छन्।