बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो ।
रातको समयमा मतदान गराउँदा राम्रो सन्देश नजाने भएकाले मंगलबार बिहान मतदान गराइएको निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।
अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल उम्मेदवार छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् । कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको भन्दै प्रचार गरिरहेका छन् । उनीहरु पदाधिकारीमा प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । लुम्बिनी प्रदेश कमिटीको सचिवमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् ।