मंगलवार, आश्विन २० गते २०८३

अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन 

सोमवार , भाद्र २५, २०८०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै संयुक्त राज्य अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका छन्। उनले प्रधानमन्त्री कार्यालयबाट अमेरिका भ्रमणका लागि जान भनेर यसअघि निणर्य गरिएका २४ जनाको संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका हुन्।

मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा मुख्य सचिवले संख्या कटौतीको प्रस्ताव आउने उनको भनाई छ । प्रधानमन्त्रीसँग अब एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै रहने बताइएको छ ।

स्वकीय सचिवबाट पनि को जाने भनेर अहिलेसम्म टुंगो नलागिसकेको र सम्भवतः गंगा दाहाल नै जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा जाने यो सबैभन्दा सानो टिम हुनेछ ।

यसअघि अमेरिका जाने भनेर निणर्य भएका मुख्य सचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको नामसहित प्रधानमन्त्री कार्यालयका केही सहसचिव र उपसचिवको नाम पनि भ्रमण टोलीको सदस्यबाट कटौतीमा परेको छ ।  प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेललाई पनि हटाइएको छ । यसअघि प्रधानमन्त्री कार्यालयको कोटाबाट २४ जनालाई अमेरिका पठाउने निणर्य भएको थियो ।

परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको एउटा टोली भने भोलि अमेरिका प्रस्थान गर्नेछ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन्।

महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जानेछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार