काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध बनेकाे छ।
नेम्वाङको गएराति अकस्मात निधन भएको हो। हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
नेम्वाङको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवाले नेम्वाङको निधनले मर्माहत बनाएको बताउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धान्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’
नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेम्वाङको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति भएको बताएका छन् ।
नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘नेपालको लोकतान्त्रिक परिवर्तनलाई संविधानमा संस्थागत गर्ने भूमिकाका निम्ति नेपाली जनताले सदा अध्यक्ष सुवास नेम्वाङलाई स्मरण गरिरहने छ ।’
यस्तै, नेकपा एमालेका नेताहरू प्रदीप ज्ञवाली नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन्।
दिवंगत नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरू त्रिवि शिक्षण अस्पतालमा पुगेका छन् ।