संघीय संसदका दुवै सदनले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
बिहीबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै बैठकमा नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। उनको सम्मानमा दुवै सदनमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ।
‘नेपालको वर्तमान संसद र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो। उहाँको देहावशानको यस दुःखद घडिमा प्रतिनिधि सभाको यो बैठक सुवासचन्द्र नेम्वाङ्गको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ सभाामुख घिमिरेले बैठकमा शोक प्रस्ताव पारित गर्नुअघि भनेका छन्।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेम्वाङको७१ वर्षको उमेरमा २०८० साल भदौ २६ गते निधन भएकोमा गहिरो शोक प्रकट गरेको बताएका थिए।