मंगलवार, आश्विन २० गते २०८३

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत, अरु के-के भए निर्णय?

शुक्रवार , भाद्र २९, २०८०

काठमाडौं। सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभा भाग लिन शनिबार जाँदैछन्। उतैबाट असोज ५ गते प्रधानमन्त्रीको चीन भ्रमणमा जाने कार्यतालीका रहेको छ। 

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषिलगायतका बिषयमा दुईपक्षीय छलफल र केही विषयमा समझदारी हुने उनले बताइन् ।

बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने विभूषण वितरणलाई मर्यादित बनाइ राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी कानून अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ ।

कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई विभूषण प्रदान कार्य स्थगन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् । बैठकले कर प्रणाली सुधार गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ । पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा उक्त समिति गठन हुने मन्त्री शर्माले बताइन् ।

चाडपर्वलाई ध्यानमा राखेर साल्ट ट्रेडिङ र खाद्य व्यवस्थालाई ५० प्रतिशत भन्सार छुटमा १०-१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरिएको उनले बताइन् ।

त्यस्तै बैठकले सिंचाइ नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल नागरिकता ऐन तेस्रो संशोधन नियमावली पनि स्वीकृत गरिएको छ ।

सरकारकी प्रवक्ता मन्त्री शर्माका विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय नि बैठकले गरेको छ ।

त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित जनताको न्यायिक समस्या स्थायी रुपमा समाधान गर्न अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार