संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्र संघीय महासिचव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसंघको मुख्य कार्यालयमा भेटवार्ता भएको बताइएको छ ।
भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको आपसी हित आदानप्रदान, सम्बन्ध र सहकार्यबारे छलफल भएको जानकारी दिइएको छ । त्यसैगरी नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य तथा अतिकम विकसित देशहरूको आर्थिक विकासलगायतका विषयमा पनि महासचिवले चासो राखे।
प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्थानीय समयअनुसार आइतबार न्युयोर्क पुगेका हुन् । उनले आगामी बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् ।
शुक्रबार प्रधानमन्त्री न्युयोर्कबाट सोझै चीन भ्रमणमा जाने कार्यक्रम छ । उहाँ आगामी १३ गते चीनको औपचारिक भ्रमण पूरा गरेपछि स्वदेश फर्किनेछन्।