काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका छन्। संविधान दिवसको अवसरमा बुधबारदेखि लागु हुनेगरि मन्त्रिपरिषद्को सिफारिसबमोजिम माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
माफी पाउनेमा भीमबहादुर खवास, हर्कबहादुर लिम्बु, समदिन मियाँसहित ६७० जना रहेका छन् । यसअघि मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले उनीहरुको सजाय मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
'राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १ क. लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६-WO-०९३९ र रिट नम्बर ०७९-WH – ०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूचीबमोजिमका उल्लिखित भीमबहादुर खवाससमेत ४९७, हर्कबहादुर लिम्बुसमेत १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत ३ जना गरी जम्मा ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को २०८०/०५/२९ को बैठकको सिफारिसबमोजिम २०८०/०६/०३ गतेदेखि लागू हुने गरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ,' विज्ञप्तिमा उल्लेख छ ।
सरकारले संविधान दिवस तथा गण्तन्त्र दिवसको अवसर पारेर आचारण सुधार भएका लगायत अवस्था हेरेर बाँकी कैद मिनाहा गर्ने प्रचलन रहिआएको छ ।