काठमाडौं। वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ। गुएनामा गएराति राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो।
पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका लागि निकोलस पुरनले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। पाकिस्तानका शहिन शाह अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले १–१ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ्स खेले। मोहमद रिजवानले ४६ रन जोड्दा फखर जमानले १५ रन बनाए।
वेस्ट इन्डिजका जासन होल्डरले ४ विकेट लिए। यस जितसँगै पाकिस्तानले ४ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ।