काठमाडौं। सत्तारूढ दल नेकपा माओवादी केन्द्रले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बलिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको बताए ।
“राहत शिक्षकको मागको सम्बन्धमा, उनीहरूले उठाएका प्रश्नहरू, गुनासोहरूको सन्दर्भमा राम्रोसित छलफल गरेर संवादको माध्यमबाटै हल गर्नुपर्छ भन्नेमा सबभन्दा बढी छलफल भयो । शिक्षा विधेयक संसद्मा दर्ता भएको छ, त्यो विधेयकका बारेमा पनि हामीले गम्भीर ढंगले छलफल गर्यौँ र त्यसलाई सकेसम्म सबै सम्बन्धित पक्षहरूसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्छ भन्ने छलफल गर्यौँ,” उनले भने, “देशका विभिन्न भागमा देखापरेको छ, धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा । त्यसमा सद्भाव कायम गर्नुपर्छ । नेपालीहरूमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्नुपर्छ । अराजकताका संकेतहरू देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भीरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ । बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान भएर जान्छ, समयमै समाधान गर्ने पहलकदमी लिइएन भने विकराल रूप लिन सक्छ । त्यसैले बेलैमा सचेत भएर यी समस्याहरू समाधान गर्नुपर्छ भनेर हाम्रो छलफल भयो ।”
सापकोटाले सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन सबैमा अपील गरे ।