प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’१५ दिने भ्रमण सकाएर स्वदेश फर्किएका छन्। चीन भ्रमणमा रहेका प्रचण्ड छेन्दुबाट एयर चाइनामार्फत भर्खरै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिबारबाट चीनको औपचारिक भ्रमणमा रहेका छन्। उनले चीनको हाङजाउमा भइरहेको एसियाली खेलको उद्घाटन समारोहमा समेत भाग लिएका थिए।
प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेतृत्वसँग छलफलसमेत गरेका थिए।
उनको भ्रमण दलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव रहेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण पूर्ण रूपमा सफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको भ्रमण दलका सदस्य आचार्यले चीनको छन्दुमा शुक्रबार यो भ्रमणले दुई देशका बीचमा आपसी विश्वास र सद्भाव वृद्धि भएको बताए ।
यस भ्रमणका क्रममा जारी भएको संयुक्त प्रेस वक्तव्यका साथै त्यसको अघिल्लो दिन दुई देशबीच भएका विभिन्न १३ ओटा सम्झौता र समझदारी नेपालको विकासका लागि कोशेढुङ्गा सवित हुने उनको भनाइ थियो ।
उनले भने, 'जुन विश्वास र आपसी समझदारीका साथ यो भ्रमण सम्पन्न भएको छ, यसले दुई देश बीचको सम्बन्धका नयाँ आयामहरू सिर्जना गरेको छ र यस भ्रमणका क्रममा भएका सहमति र समझदारीका विषयहरू नेपालको हित र विकासमा सहयोगसिद्ध हुने कुरा आगामी दिनले नै देखाउनेछ ।'
सल्लाहकार आचार्यले प्रधानमन्त्रीको भ्रमणलाई चीनका राष्ट्रपतिले महत्त्व दिएर प्राथमिकतामा राखेको आफूले पाएको बताए । प्रधानमन्त्री दाहालसँग र नेपाली प्रतिनिधिमण्डलसँग राष्ट्रपति चिनफिङले गरेको कुराकानी र वार्ताका लागि दिएको समयले पनि यो कुरालाई पुष्टि गर्ने आचार्यको भनाइ थियो ।त्यसपछि प्रधानमन्त्री दाहाल र चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग पनि महत्त्वपूर्ण रूपमा द्विपक्षीय कुराकानी भएको बताउँदै आचार्यले सो द्विपक्षीय भेटवार्ता दुई देशको सम्बन्धमा थप विश्वास र समझदारीको विकास गर्न सहयोगी रहेको टिप्पणी गरे ।
यो भेटले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको आफूले महसुस गरेको पनि उनले जानकारी दिए । उनले भने, 'यो भ्रमणबाट दुई देशबीचको सम्बन्ध र समझदारी नयाँ उचाइमा पुगेको छ, बुझाइमा एकरूपता कायम भएको छ र आगामी दिनमा यसको परिणाम मुलुकको हितमा राम्रैसँग देखिनेछ ।'
प्रधानमन्त्री दाहालसँगको द्विपक्षीय वार्तापछि भएका सम्झौताहरूका साथै भूकम्पपछि तथा कोभिडका समयमा बन्द भएका नाकाहरू खोल्ने सहमतिले दुई देशका सीमा क्षेत्रका नागरिकका मात्र नभएर देशकै व्यावसायिक रूपमा आयात निर्यातका समस्याहरू पनि समाधान भएर जाने उनको भनाइ छ ।