काठमाडौं। सर्वोच्च अदालतले सरकारसँग नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को बाँकी कैद सजाय कट्टा गर्नुको कारण माग गरेको छ । उक्त रिट निवेदनलाई पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेसी तोक्नसमेत सर्वोच्चको आदेश छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र पेस गर्न पनि राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो ।
इजलासले रिट निवेदनको टुङ्गो नलागेसम्म निवेदक तथा निजका परिवारका सदस्यलाई यथोचित सुरक्षा प्रदान गर्न र गराउन गृह मन्त्रालयलाई लेखी पठाउनसमेत आदेश दिएको छ । रिट निवेदक वा प्रत्यर्थी कुनै पक्षको अनुरोधमा पनि सुनुवाइ स्थगित नहुने ब्यहोरा जनाउ दिई अरू नियमानुसार पेस गर्न इजलासले आदेश दिएको छ ।
इजलासले रिगलको हकमा यही असोज ३ गते राष्ट्रपतिद्वारा माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण सक्कल मिसिल महान्यायाधिवक्ताको कार्यालयमार्फत असोज २४ गतेभित्र झिकाउन समेत आदेश दिएको छ । रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए ।
चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।