मंगलवार, आश्विन २० गते २०८३

हिक्मत कार्कीले दिए मुख्यमन्त्रीबाट राजीनामा, १६८ (५) अनुसार सरकार गठनको बाटो खुल्याे

शनिवार , आश्विन २०, २०८०

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

अब संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ ।

नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत दिन शनिबारको प्रदेशसभा बैठक राखिएको थियो ।

तर प्रदेशसभा बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गर्‍यो ।
 
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको स्थायित्वका लागि सबै एक भएर अगाडि बढ्नु अहिलेको अवश्यकता भएको उनले बताए । मध्यावधि जनताको चाहना नभएको भन्दै उनले यसलाई रोक्न आफ्नो दल जस्तो सुकै त्याग गर्न तयार रहेको बताए । कार्कीले अघि भने, ‘एमालेले ककस्तो त्याग गर्दा तत्काल निर्वाचन रोकिन्छ, त्यसका लागि एमाले तयार छ ।’

धारा १६८ को उपधारा ५ मा भनिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने छ ।’

यसअनुसार सरकार गठन हुन सकेन वा यस उपधाराअनुसार नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत पाएन भने प्रदेशसभा स्वतः विघटन हुनेछ र मध्यावधि निर्वाचन हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार