काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न माग गरिएको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गरी अध्यक्ष ढुंगानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै निलम्बन गरी कारबाही गर्न माग गरेको छ ।
बोर्ड अध्यक्षले बोर्ड आचारसंहिता विपरित छोरीको नाममा सेयर किनेको फेला परेपछि उनको चर्को विरोध भइरहेको छ । यो विषय बाहिर आएपछि बोर्ड र अध्यक्षको प्रतिष्ठामा नै आँच आएको भन्दै युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरब विष्टले विज्ञप्ति जारी गरी कारबाही गर्न माग गरेका हुन् ।
नेपालमै पहिलोपटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा भेटिएको छ । यो घटनापछि अर्थमन्त्रालयले बोर्डको नाममा पत्राचार गर्दै ३ दिनभित्र स्पष्टीकरण सोधेको थियो ।
मन्त्रालयले सोधेको स्पष्टीकरण पत्रमा व्यक्तिको नाम उल्लेख नगरी कार्यालयको नाममात्रै उल्लेख गरेको छ ।
युनियनले अर्थमन्त्रालयको पत्रमा समेत आपत्ति जनाएको छ । कुनै व्यक्तिले गरेको गल्तीलाई समग्र संस्थाको गल्तीको रुपमा देखाउनु गलत भएको युनियनको भनाइ छ ।