नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नभएको बताएका छन् ।
सहायक रथी यमबहादुर अधिकारीलाई सेनापति बनाउन चलखेल सुरु भएको समाचार बाहिरिएपछि आइतबार विहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले त्यो स्वीकार्य नहुने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन। सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं। सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस्।’
माओवादीसहितको तत्कालीन केपी ओली नेतृत्वको मन्त्रिपरिषदले सेना समायोजनका क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीलाई सहायक रथीको विशेष पद सिर्जना गरेर बढुवा गरेको थियो।
माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि सरकारले तीन वर्ष थप्ने निर्णय गरेको थियो ।