शुक्रवार, कार्तिक ७ गते २०८३

इपिएस प्रक्रिया पुरा गरेका युवालाई तत्काल कोरिया पठाउन निर्देशन

आइतवार , श्रावण १७, २०७८

काठमाडौं । संसदीय समितिले कोरियाली भाषा परीक्षा पास गरी सम्पुर्ण प्रक्रिया पुरा गरेर बसेका युवाहरुलाई तत्काल रोगारीमा पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आईतबार सिंहदरवारमा बसेको बैठकले इपीएस परीक्षा पास गरेर बसेकाहरुलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

भाषा परीक्षा पास गरेर बसेका करिव १० हजार जना नेपाली दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी परेको थियो ।  सोही उजुरीमाथि आइतबार छलफल गरेको समितिले श्रम, रोजगार मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिएको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए ।

बैठकमा भाषा परीक्षा पास गरिसक्दा पनि कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यहरुले सरकारको आलोचना गरेका थिए । कोरोना महामारी सुरु भएदेखी कोरिया रोजगारी ठप्प भएको छ । 
कोरोना संक्रमण बद्दै जाँदा सुरुमा नेपाल सरकारले रोजगारीमा पठाउन रोकेको भएपनि, नेपालमा पनि संक्रमण बढेपछि कोरियाले श्रमिक लैजान कोरोना विमा रसिधा उडान शर्त राखेको थियो ।

त्यसपछि भने सरकारले कुनैपहल गरेको थिएन । करिब डेढ वर्षपछि हाल कोरोना विमाको शर्त नेपालले पुरा गरेको छ तर अझैकोरिया नेपाल सिधा उडनमार्फत मात्रै श्रमिक लैजाने विषयमा टुङ्गो नलाग्दा कोरिया रोजगारी शुरु हुन सकेको छैन । 

कोरिया जान सबै प्रक्रिया पुरा गरेका केही युवाहरुले आफुहरुलाई रोजगारीमा पठाइदिन निरन्तर पहल गर्दै आइरहेका छन् । उनिहरुकै उजुरीमा आज सो समितीमा छलफल भएको थियो । समितिका सदस्य खिमलाल देवकोटाले सबै प्रक्रिया पूरा गरेका नेपालीलाई अझै दक्षिण कोरिया नपठाएर सरकारले निर्लज्जता प्रकट गरेको टिप्पणी गरे ।

समितिका अर्का सदस्य राधेश्याम अधिकारीले उडान तथा खोप सबैको तत्काल व्यवस्था गरी भाषा परीक्षा पास गरेकालाई कोरिया जाने वातावरण बनाउन ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराए ।
समितिका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्य सचिव शंकरदास बैरागीले भाषा परीक्षा पास गरेकाहरुलाई छिटो दक्षिण कोरिया पठाउन आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले कोभिड-१९ को संकटका कारण उनीहरुले समयमै कामका लागि दक्षिण कोरिया जान नसकेको पनि दावी गरे । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले खोप र हवाइ उडानको व्यवस्था मिलाउन नसक्दा भाषा परीक्षा पास गरेकाहरुलाई कोरिया पठाउन ढिलाइ भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोरिया जाने नेपालीका लागि कोरोना विरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले श्रम सम्झौताका लागि कुनै समस्या भए तत्काल सम्बोधन गर्न तयार रहेको बताए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार