जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको हो। एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ ।
प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ भने करिब २५० भन्दा बढी घाइते अवस्थामा छन् । जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा न्यानो घाममा सुतिरहेका भूकम्प पीडितले भने “भूकम्पले घरमा त खासै क्षति भएन तर रातिको भूकम्पको कम्पनले अहिले पनि मुटु कापिरहेको छ । रातभर निदाउन सकेनौँ । त्यही भएर अहिले सुतिरहेका छौँ । पुराना केही घरमा भने आंशिकरूपमा क्षति भएको छ । ”
भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा धेरै भौतिक क्षति पुर्याएको छ ।
सरकारले जाजरकोटका भूकम्पबाट प्रभावित भएकाहरूका उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको छ । ती दुई जिल्लाका भूकम्प प्रभावितको उद्धार गर्न तीनै तहका सरकाको समन्वयात्मक काम गरेको देखियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का आफैँ प्रभावितस्थल जाजरकोट आएर उद्धार र राहतको कमी हुन नदिने बताएका छन्। यसअन्तर्गत भूकम्प प्रभावितको उद्धार करिब अन्तिम चरणमा पुगेको हो ।