आइतवार, श्रावण २४ गते २०८३

कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

शनिवार , कार्तिक २५, २०८०

काठमाडौं। प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएसँगै आज पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन सम्पन्न गरेका हुन् ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलन बिहान ६ बजे गरिएको थियो । करिब ४० मिनेटसम्म उनले कागलाई बोलाएका थिए र सयौँ काग एकै ठाउँमा झुम्मिएका थिए । ‘मैले विगत १९ वर्षादेखि यसरी नै बिभिन्न ठाउँमा काग सम्मेलन गर्दै आएको छु । विशेषगरी तिहारको परम्परालाई जोगाई राखौं र सकारात्मक सन्देश दिऊँ भन्ने मेरो चाहना हो ।’ काग सम्मेलन कर्ता कलाकार दुलालले भने । ‘यो रत्नपार्क क्षेत्रमा पहिलेका वर्षहरूमा जस्तो कागको संख्या छैन । यो ठाउँमा सुरुसुरुमा निकै काग हुने गर्थे, अहिले कमी आएको छ ।’

दुलालले काग सम्मेलन पहिलो वर्ष पश्चिम धनगढीबाट सुरु गरेका थिए । दाङ र इलाममा केही वर्ष काग सम्मेलन गरेपछि काठमाडौंमा गर्न थालेका हुन् । आफूले सपनामा काग कराएको देखेपछि बिपनामा पनि काग कराउन थालेको र प्रत्येक बर्ष काग तिहारमा काग जम्मा पार्ने गरेको उनको भनाई छ । उनी अघि भन्छन्, ‘कागको शुभ र अशुभ खबर हुन्छ । कागलाई शुभ खबरले बोलाउँदा आउँदैन र अशुभ खबरले बोलाउँदा आउँछ । उसको भाषा बुझेर बोलाउनु पर्छ ।’

यसवर्षको काग सम्मेलनमा पहिलेको जस्तो कागको संख्या नभएको आयोजक संस्था राष्ट्रिय सङ्गीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटुवाल बताउँछन् । उनी भन्छन्, ‘हामीपनि विगत लामो समयदेखि रमेश दुलालजीसँगै छौं । कागको सङ्ख्यामा कमी आएको अनुभूति गरेका छौं ।’ यसबर्ष ह्याम्स हस्पिटल काठमाडौं र सन्दकपुर गाउँपालिका इलामले कार्यक्रमको सह आयोजना गरेको हो । साथै एसियामा गजल रेष्टुरेन्टको मुख्य प्रायोजन, ओसियन ब्राइट, शान्ति तथा ग्रामीण विकास केन्द्र (सिपाई), टप राजधानी रोधी क्लब, ओम तन्दुरी र होराइजन स्पाको सह प्रायोजन रहेको छ ।

दुलालले कामबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार