प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शङ्खधर साख्वा नेपालको इतिहासमा गर्व गर्नलायक राष्ट्रिय विभूति भएको बताएका छन्।
ललितपुरको पाटन दरबार क्षेत्रमा मंगलबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्रीले दाहालले विगतमा नेपाल संवत् ‘नेवार समुदायको मात्रै हो’ भन्ने गलत भ्रम रहेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताए।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विक्रम संवतसँगै नेपाल संवत् पनि उल्लेख गर्नुपर्ने निर्णय भएको उनले बताए।
नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा घोषणा गर्नुपर्छ भन्ने आवाज धेरैतिरबाट उठेको र नेपालीको आफ्नै मौलिक संवत् नेपाल संवत राष्ट्रिय संवतको रूपमा घोषणामा मात्रै सीमित नराखी सरकारी निर्णयमा पनि विक्रम संवतसँगै नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय मन्त्रिपरिषदबाट गर्न पाउँदा गर्वको महसुश भएको धारणा राखे।
‘यसले हाम्रो स्वतन्त्रता, समानता, सामाजिक न्यायसहितको राष्ट्रिय स्वाधीनता र हाम्रो आत्मसम्मानलाई फेरि एउटा उचाइमा उठाएको छ’, उनले भने, ‘यो हामी सबै नेपालीले गर्व गर्नुपर्छ।’