नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला नेतृत्वमा रहेको संस्थापनइतर समूहले राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवार छनोटको ‘मापदण्ड’ खोजेको छ ।
पार्टी कार्यसम्पादन समितिको बैठक बस्नुअघि बुधबार बसेको शेखर पक्षधर नेताहरूको बैठकले मापदण्डका आधारमा उम्मेदवार छनोट हुनुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री गगनकुमार थापाले आगामी राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट बाँड्ने टिकट न्यायपूर्ण ढंगले वितरण गर्नुपर्ने बताए ।
पार्टी सभापतिले सबैसँग न्यायपूर्ण गर्नुपर्ने ठाउँमा पार्टी सभापति आफैं एउटा समूहको संरक्षक जस्तो भएको थापाले आरोप लगाए । उनले भने, ‘यो पटकको राष्ट्रिय सभाको निर्वाचनमा २ वटा कुरामा प्रस्ट हुनुपर्छ भन्नेमा हामी प्रस्ट छौं, त्यो भनेको मापदण्ड र न्याय । कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा जाँदै गर्दा राष्ट्रिय सभाको संविधान र राष्ट्रिय सभाको जुन स्पिरिट छ यो सबै कुराको आधारमा जो साथीहरू योग्य हुनुहुन्छ, जसले अहिलेसम्म मौका पाउनुभएको छैन, जसले यसअघि निर्वाचनमा भाग लिन पाउनुभएको छैन, ती साथीहरूलाई पठाउनुपर्छ ।’
उनले शेखर समूहले यति टिकट पाउनुपर्ने उति पाउनुपर्नेभन्दा पनि न्यायपूर्ण हुनुपर्ने तर्क गरे । उनले भने, ‘सभापतिले यो पटक राष्ट्रिय सभाको टिकट बाँड्दै गर्दा सिंगो कांग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुन्न ? सिंगो कांग्रेसको सभापति बनाउने हो र हामी त्यो प्रयत्न गर्ने हो ।’
बैठकमा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा लगायत नेताहरू सहभागी थिए ।