नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सरकारको भूमिकाप्रति आशंका व्यक्त गरेका छन् । कपिलवस्तुमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा विप्लवले सरकारको भूमिकाप्रति आशंका व्यक्त गरेका हुन् ।
आफूसहित पार्टी नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी हुँदासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख नखोलेको भन्दै उनले गुनासो गरे । ‘सरकारका प्रमुख प्रचण्ड समाजवादी मोर्चामा बस्ने र त्यही मोर्चाको अर्को सदस्यसहितका नेतामाथि पक्राउ पुर्जी जारी हुँदा मौनता साध्नुले सरकारको दोधारे चरित्र देखिन्छ ।’, विप्लवले भने ।
साथै आजको बैठकमा विप्लवको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । सोमबारदेखि सुरु भएको बैठकमा महासचिव विप्लवले ८ पृष्ठको ‘विशेष परिस्थितिको विशेष कार्यभार, दृढताका साथ पुरा गरौँ’ भन्ने शीर्षकको प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको उनले जवाफ दिए । जवाफ दिएसँगै प्रतिवेदन पारित गरिएको हो ।