काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिने युगान्डा भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार बिहान कतार एअरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुने असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्था गरेका हुन् ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका थिए ।
प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री प्रचण्ड गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड यही माघ ७ गते बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
यस्तै प्रधानमन्त्री प्रचण्डको भ्रमण अवधिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधान तथा गृहमन्त्री पूणर्बहादुर खड्काले सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोकेका हुन् ।