काठमाडौं। राजश्व अनुसन्धान विभागले हुण्डी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आशंकामा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ । गएराति अग्रवालको क्षेत्रपाटीस्थित निवासमा छापा मारी झण्डै सवा २ करोड नगदसहित उनलाई नियन्त्रणमा लिइएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए। उनलाई अहिले राजश्वको हिरासतमा राखिएको छ । अवैध कारोबारमा उनको टिम नै संलग्न रहेको र उनीसँगै अरु दुई जनालाई पनि नियन्त्रणमा लिइएको महानिर्देशक ढुंगानाले बताएका छन्।
अग्रवाल अवैध धन्दामा लागेको आशंकामा विभागले लामो समयदेखि निगरानी गर्दै आएको थियो । बाहिर कपडा ब्यापार देखाए पनि भित्रभित्रै सुन, हुण्डी र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको विभागको अनुमान छ । महानिर्देशक ढुंगानाका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।