काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन्। युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिई उनी आइतबार बिहान १० बजे स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री सवार कताज एअरवेज अवतरण गर्ने क्रममा भीभीआईपी सवारी भन्दै त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा करिब आधा घण्टा बन्द गराइएको थियो ।
सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा तथा इजरायल—हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए ।साथै उनले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए ।
विमानस्थलमा के भने ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धि टीआरसी विधेयक आगामी संसदबाट टुंगोमा पुग्ने दाबी गरेका छन्। त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सबै दलहरूसँग सहमतिका लागि वार्ता जारी रहेको बताए। संसद खुल्ने वित्तिकै टुंगोमा पुर्याउनेगरी छलफल अघि बढेको उनको भनाइ छ ।
यस्तै प्रचण्डले जागिर खाने नाममा रुस र युक्रेनी सेनामा भर्ती भएका नेपाली युवाहरुले राज्यको नीति र संविधान विपरीत कार्य गरेको बताएका छन्। युक्रेन र रुसको सेनामा भर्ती भई ज्यान गुमाएकाहरूका विषयमा सरकारले असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा गम्भीरताका साथ चासो चासो दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले मृतक परिवारलाई क्षतिपूर्ति राहत र शव फिर्ता ल्याउने सम्बन्धमा रुसका उपविदेश मन्त्री स्तरमै छलफल भएको बताए। सरकारले कुटनीति पहल गरपनि सफलता नपाएकोबारे पत्रकारको प्रश्नमा प्रचण्डले यसबारे सरकारले कुटनीतिक पहल गरिरहेको भएपनि ती देशहरु द्वन्द्वमा भएकाले समय दिन नसकेको हुनसक्ने जवाफ दिए।