घामपानीले धर्ती पिरोलीरहँदा
लेकबेंसीमा जन्मिइन् इन्द्रेणी
यसरी उदाइन् उनी,
मग्नमस्त भयो आकाश
मन्त्रमुग्ध भयो संसार !!
बेरङ्ग बादलहरूको आँखामा
रङ्गैरङ्गको परेली
उजाड पहाडहरूको शिरैमा
सातै रङ्गको इन्द्रेणी
बादल सजिएको हो, या
पहाड लोभिएको हो,
रङ्गैरङ्गको परिधिमा
क्षितिज रोकिएको हो !!
खैर
म इन्द्रेणीका रङ्गहरू पल्टाउँदै गएँ
रातो रङले खतरा सम्झायो
मैले जिन्दगी सम्झिएँ
सुन्तला रङले उत्साह
मैले प्रेम सम्झिएँ ,
पहेँलो रङ खुसीको रहेछ
एउटा तस्बिर आँखामा आयो
निलो रङ विश्वासको रङ
खै किन हो हृदय रसायो,
हरियो, प्रकृतिको प्यारो रङ
यात्रामा पाइलाका डोबहरू सम्झिएँ
घिरौँलो रङ्गले अन्तर्दृष्टि सम्झे
सँगै असिनाले समुन्द्रलाई दिएका चोटहरू
सम्झिएँ
र बैजनीको अन्तर्ध्यान
म अन्त्यमा आफैभित्र हराएँ !!
हराइन् इन्द्रेणी
बिलाए रङ्गहरू
म उध्रिएँ
म एक्लिएँ
र आत्मानुभूति भयो
रङ्ग त केबल
आँखा र प्रकाशको खेल पो रहेछ
इन्द्रेणी त केबल
अप्टिकल इलुजन्( दृष्टि भ्रम) पो रहिछन्
यथार्तमा
आकाशसँग थियो कालो बादल
धर्तीसंग थियो उजाड पहाड
क्षितिज पर्खिरहेको थियो
धर्ती र आकाशको मिलन
घामपानीमै बिलायो
मान्छेको मन्
घामपानीमै बितिगयो
मान्छेकाे जीवन !!!