मंगलवार, आश्विन २० गते २०८३

प्रचण्ड भन्छन् - दुई दलीय शासन रोक्न प्रतिपक्षहरू एक भएर लड्नुपर्छ

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन्। बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले देशलाई दुई दलीय शासनतिर लान खोजिएको बताएका अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनले पार्टी कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्दै पार्टी एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताए। बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता सापकोटाले अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समाहित गर्दै अघि बढ्नुपर्ने बताएको जानकारी दिए।

त्यस्तै संसदमा माओवादी केन्द्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि दाहालले जोड दिनुभएको उनको भनाइ छ।

उनले भने ‘बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, भूराजनीतिक स्थितिले गर्दाखेरी राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको छ। राष्ट्रियता, जनजिविकाका सवालहरु दिन प्रतिदिन पेचिलो बन्दै गएका छन्। यस्तो परिस्थितिमा हामीले नयाँ विचारको विकास गर्दै यो जटिल परिस्थितिलाई चिर्नका लागि, चुनौतीको सामना गर्नका लागि पार्टीलाई एकतावद्ध बनाउने, सुदृढ गर्ने र जनदिशा लागू गर्ने। जनताका समस्याहरुको तथ्यांक संकलन गर्ने। सदनलाई प्रभावकारी बनाउने। अन्तरक्रिया छलफल गर्ने। सरकारले पहिलेका सरकारले गरेका सुशासन, समृद्धिका कुराहरुलाई उल्ट्याउने खालको स्थिति बनाइरहेको छ। दुई दलीय शासनतिर देशलाई लान खोजिएको छ। त्यसले अधिनायकवादतिर लाने संकेत देखा परेको छ। पश्चगमनतिर जान खोजेको छ। त्यसलाई रोक्नका लागि जनतालाई सुसुचित गर्नुपर्छ। प्रशिक्षित गर्नुपर्छ। पार्टी एकतावद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने निर्णय भएको छ।’

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रवक्ता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधानविपरीत भएको बताए। प्रधानन्त्रीले बृहत शान्ति सम्झौताको विपरीत बोलेको उनले बताए।

उनले नेकपा हुँदा दस्तावेजमै जनयुद्धलाई सशस्त्र सङ्घर्ष लेखिएको भन्दै सो कुरा बिर्सिएर जनयुद्धलाई हिंसा भन्नुमा बदनियत रहेको बताए।

प्रवक्ता सापकोटाले सरकारको गतिविधिका कारण यो सरकार दलाल पुँजिपती, बिचौलिया र माफियाहरुको पक्षमा छ भन्ने स्पष्ट भएको बताए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार