काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबारबार बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि प्रारम्भिक चरणमा १९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको हो ।
बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुनेछ । प्रशिक्षणमा सहभागी हुने सबैको पिसिआर परीक्षण भइसकेको क्यानले जनाएको छ । सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आइसकेका छन् । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुनेछ ।
क्यानले बन्द प्रशिक्षणमा बोलाईएको खेलाडीको सुचीमा ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र रोहित कुमार पौडेल रहेका छन् ।