काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब दक्षिणी छिमेकी राष्ट्र भारत भ्रमणको व्यवस्था मिलाउने बताएका छन् । चीनको औपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किने क्रममा प्रधानमन्त्री ओलीले अब भारत भ्रमणको व्यवस्था मिलाउने बताएका हुन् ।
आफू चीनतिर ढल्केको भनेर भारतीय मिडियामा भएको प्रचार गलत भएको समेत उनले बताए । ‘दक्षिणको भ्रमण अब एरेन्ज गर्नुपर्छ, कहिले भन्ने कुरा फर्केकै दिन कसरी टुंगो हुन्छ ?’ पत्रकारले सोधेको एक प्रश्नको जवाफमा ओलीले भने ।
ओलीले पहिलो भ्रमण चीनतर्फ गर्दैमा उतै ढल्केको भन्ने आरोप गलत भएको बताए । ‘म के भन्छु भने दक्षिणको मिडियाले मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने खालको कुनै कुरा गरेको छ भने त्यो राम्रो तरिका होइन’, प्रधानमन्त्री ओलीले भने ।