काठमाडौँ । भारत र चीनले नेपाललाई नसोधी लिपुलेकलाई तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेको सार्वजनिक भएको छ।
भारत र चीनले कोभिड १९ महामारीका कारण सन् २०२० देखि रोकिएको कैलाश–मानसरोवर तीर्थयात्रु आवतजावतलाई निरन्तरता दिने सहमति गरेका छन्।
बेइजिङमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका परराष्ट्रमन्त्री वाङ वी सहभागी भएको बैठकमा यस्तो सहमति भएको भारतको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई छिमेकीले तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेको लिपुलेक नेपाल र चीनको सिमानामा पर्छ।
लिपुलेकको विषयमा यसअघि नेपालले दुवै देशसँग औपचारिक रूपमै असहमति प्रकट गरिसकेको छ। २०७२ जेठ १ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका प्रधानमन्त्री ली खस्याङबीच लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति गरेपछि नेपालले विरोध जनाएको थियो।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा भारत र चीनलाई ‘प्रोटेस्ट नोट’ पठाइएको थियो। त्यसको वास्ता नगरेर उनीहरूले लिपुलेकलाई पुनः प्रयोग गर्न लागेका हुन्। यता नेपाल सरकार भने यस विषयमा मौन बसेको छ ।