बिहिवार, आश्विन १५ गते २०८३

अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

बिहिवार , पौष २५, २०८१

काठमाडौं । आज साताको अन्तिम कारोबार सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ । विगतका ६ कारोबार दिन लगातार बजार बढेको हो ।

आजको गिरावटपछि नेप्से २६३५ मा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ६ अर्ब ४० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३० करोडको कारोबार भएको छ । घटेको मौकामा कतिपय लगानीकर्ताले खरिदको अवसर ठानेका छन् । कतिपयले थप घट्ने संकेतका रुपमा बुझेका छन् । जसले गर्दा कारोबार रकम उल्लेख्य हुन पुगेको छ ।

जम्मा ५५ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ७ को स्थिर रहेको छ । होटल तथा पर्यटन समूह ०.९९ प्रतिशत बढ्दा अरु सबै सेक्टर घटेका छन् । फाइनान्स २.९३ प्रतिशतले घटेका छन् । बैंकिङ ०.४३, विकास बैंक २.०४, हाइड्रोपावर ०.३८, लगानी ०.३७, जीवन बीमा १.१४, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.२५, निर्जीवन बीमा ०.३४, अन्य ०.४४ र व्यापार ०.७४ प्रतिशतले घटेका छन् ।

दुई हाइड्रोपावर कम्पनी बाराही र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशतले बढेको छ । रिभरफल्स पावरको ८.१९, न्यादीको ८.११ प्रतिशत मूल्य बढेको छ । सप्तकोशी विकास बैंकको ९.२३, मायाखोला हाइड्रोपावरको ८.४, सामुदायिक लघुवित्तको ७.४, जानाकी फाइनान्सको ६.०५ तथा पोखरा फाइनान्सको ५.६ प्रतिशत मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा सुपरमादी हाइड्रोपावर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार