काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
आज सेयर बजार परिसूचक नेप्से २५.४१ अंकले घटेर २६०९.६७ अंकमा आइपुग्दा लगानीकर्ताले ३ अर्ब ९९ करोडको मात्रै कारोबार गरेका छन् । आज कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य घटेको छ भने सबै समूहको उपसूचक समेत घटेको छ ।
कुल कारोबारमा आएका ३०१ वटा कम्पनी मध्ये १९३ वटा कम्पनीको मूल्य घट्दा ४४ वटाको मात्रै बढेको छ । बढ्नेमा वीन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ । अन्य कम्पनीको भने मूल्यमा ४ प्रतिशत भन्दा थोरैको बृद्धि भएको छ ।
घट्नेमा भने आज न्यादी हाइड्रोपावर अगाडि रहेको छ । यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबारमा भने आज अगाडि एनआरएन इन्फ्राइन्ट्रक्चर र सिन्धु विकास बैंक अगाडि छन् । यी दुवै कम्पनीको क्रमशः २० करोड र १८ करोडको कारोबार भएको छ ।