बैतडी । प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि धनगढीमा सुरू भएको छ । उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले हराएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको गण्डकी प्रदेशले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा ५५ रन बनायो । जितका लागि पाएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । सुदूरपश्चिमका लागि रेवती धामीले अविजित २१ रन बनाइन् ।
बलिङतर्फ गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले एक एक विकेट लिइन् । यसअघि ५५ रन बनाउने क्रममा गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी रेवती धामीले ४ तथा ऋतु कनौजिया र जानकी थापाले एक एक विकेट लिइन् । रेवती ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।
प्रतियोगिताको एक समारोहबीच सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य प्रकाश देउवाले उद्घाटन गरेका थिए । समारोहमा नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्द, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्द, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी राना, ओलम्पियन दीपक विष्ट, सुदूरपश्चिम खेलकुद परिषद्का अध्यक्ष दीपकबहादुर सिंह, क्यान कोषाध्यक्ष पदम खड्का, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष बाशुदेव जोशीलगायतको उपस्थिति थियोे ।